असार महिनामा धान रोप्दा लागेको हिलो पखाली छाला रोग नलागोस् भन्ने कामनाले सोमबार साँझ घर घरमा लुतो फाली साउने सङ्क्रान्ति पर्व मनाइएको छ।

नेपालीले परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी बेलुकी अगुल्टो फाल्ने विधि छ । यसलाई लुतो फाल्ने भनिन्छ । यो विधि साउने सङ्क्रान्तिको बेलुकी सम्पन्न गरिन्छ। अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् ।

त्यस क्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउँछन्। लुतो फाल्दा आ–आफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइएको हो। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ ।

माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाउने गरिन्छ । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाएका छन् । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि धर्मशास्त्रविद् गौतमले बताए।

साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्ने गरेको हो । यस अवसरमा पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । आज सौरमासअनुसार साउनको पहिलो सोमबार भएकाले पनि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *